२०७२ बैशाख १२ गते मध्यान्ह ११.५६ बजे आएको ७.८ रिख्टर स्केलको भूकम्पको परकम्पन अझै पनि आइरहेको छ । ंंं८८०० भन्दा बढिको ज्यान लिएको, २३००० भन्दा बढिलाई घाइते बनाएको तथा झण्डै ८ लाख घरहरु भत्काएर खर्बाैं रुपैयाको भौतिक सम्पति नष्ट गरेको यो भूकम्प ८२ बर्ष यता नेपालले भोगेको सबैभन्दा ठूलो प्राकृतिक बिपत्ति हो । यसअघि बि.सं. १९९० मा नेपालमा आएको ८ रिख्टर स्केलभन्दा ठूलो भूकम्पले यस्तै क्षति पुर्याएको थियो ।
शनिबार, स्कुल, कलेज, सरकारी कार्यालयहरु सबै बन्द रहेको बेला मध्यान्हमा भूकम्प आउनुअघि यसको कल्पना पनि कसैले गरेका थिएनन् । गोर्खाको बार्पाकलाई केन्द्रबिन्दु बनाएर आएको यो भुकम्पले गोर्खाको भौतिक संरचना अधिकांश नष्ट गर्यो भने त्यसभन्दा पूर्वका धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, काभ्रेपलाञ्चोक, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप र सिन्धुलीमा पनि ठूलो क्षति पुर्यायो । त्यसपछिका साना परकम्पन र बैशाख २९ गते दिउसो १२.५१ मिनेटमा आएको ६.८ रिख्टर स्केलको ठूलो परकम्पनले थप मानवीय र भौतिक क्षति पुर्यायो ।
यो परकम्पनले खासगरी सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुलीका भौतिक संरचनालाई थप ध्वस्त बनायो ।
भूकम्पपछिको मुलुकको अवस्था निकै अस्तव्यस्त र हाहाकारयुक्त थियो । संचारमाध्यमका भौतिक संरचना क्षतिग्रस्त भएकोले तथा आफै अन्यौलमा पनि रहेकाले क्षतिको यकिन विवरण आउन सकेन, जसले गर्दा अनावश्यक हल्लाहरुको बाढि आयो तथा त्यसले थप अन्यौल र आतकंको वातावरण निर्माण गर्यो । यद्यपि, २,३ दिनपछि संचारमाध्यमहरु सम्हालिए र त्यसपछि उनीहरुले निर्वाह गरेको भूमिक प्रशंसनीय रह्यो । भूकम्पछि ठूलो अराजकता मच्चिन नपाउनुको एउटा कारण यसलाई पनि मान्नुपर्छ र यसको जश संचारमाध्यमलाई जानुपर्छ ।
सुरक्षाकर्मीहरु सुरुमा आफ्नै ढंगले, पछि आफ्नो कमाण्डको निर्देशन अनुसार तथा भोलीपल्टदेखि सरकारको निर्देशन अनुसार परिचालित भएपनि भूकम्पपछिका केही दिन सरकारको अपेक्षित सक्रियता देखिएन । केही बर्षदेखि बिज्ञहरुले नेपाल भूकम्पको खतरामा रहेको बताइरहेको भएपनि सरकारको यस सम्बन्धी तयारी शून्य देखियो । छिमेकी तथा अन्य अन्तराष्ट्रिय मित्र राष्ट्रहरुले त्यही बेलुकादेखि नै उद्धार र राहतका लागि टोली पठाउन थाले । केही छिमेकीले उद्धारभन्दा बढि आफ्नो सानो कामको ठूलो प्रचार गरेको देखिए पनि त्यस्तो बेला सानो सहयोग पनि सह्रानीय थियो । खासगरी, क्षतिग्रस्त भवनमा फसेकालाई उद्धार गर्न तथा घाइतेहरुको प्राथमिक उपचारमा उनीहरुले निर्वाह गरेको भूमिका उल्लेखनीय र प्रसंसनीय रह्यो ।
प्रधानमन्त्री सुशिल कोइराला असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा इन्डोनेशियाको राजधानी जकर्तामा थिए तथा उनी भोलीपल्ट दिउसो मात्र मुलुक आइपुगे । तर, त्यसपछि पनि उद्धार र राहतमा सरकारको भूमिका प्रभावकारी रहेन । सरकारी संयन्त्रहरुबीच समन्वय मिलाउन, उनीहरुलाई उचित र तत्काल निर्देशन दिन तथा समस्या पहिचान गरी समाधान गर्ने तत्परता देखाउन सरकारले सकेन ।
शून्य तयारी
८ लाखभन्दा बढि घर भत्किएका, लाखौं घर चर्किएका तथा भूकम्पको परकम्पन आइरहदा क्षति नपुगेका घरमा बस्नु पनि खतरा रहेकोले पचासौं लाख मानिसहरु खुला ठाउमा निस्किएका थिए । उनीहरुलाई छानो चाहिएको थियो । स्थानीय बजारमा रहेको पाल हात्तिको मुखमा जिरा भइसकेको थियो । तर, सरकारसग यस्ता प्राकृतिक बिपत्तिमा आवश्यक पर्ने पाल/त्रिपाल एउटै पनि थिएन । भूकम्पको एक हप्तासम्म सरकारका मन्त्रीहरु पाल/त्रिपाल बनाउन बिदेशमा अर्डर दिएको जस्ता बयान दिइरहेका थिए ।
बर्षाको मुखमा भूकम्प आएको तथा भूकम्पकै दिनसमेत पानी परेकाले छानो नभएका मानिसहरुलाई पाल/त्रिपालको आवश्यक्ता अरु बढि परेको थियो । त्यस्तो बेला लाखौं परिवारले खुला आकाशमुनि रात काट्नुपर्यो भने लाखौं परिवारले कसैगरी पाल/त्रिपालको बन्दोबस्त गरेकाहरुसग आश्रय लिनु पर्यो । यो महापिडामा एक आपसमा उचनिचको साटो भाइचारा देखाउनु भने नेपाली समाजको उल्लेखनीय तथा प्रसंसनीय पक्ष रह्यो । झण्डै एक महिनासम्म पनि सरकारले पाल/त्रिपालको आपूर्ति तथा वितरण गर्न नसकेकाले माग तथा अभावले नेपालीलाई सताईरह्यो ।
केही बर्षदेखि बिज्ञहरुले नेपाल भूकम्पको उच्च जोखिममा रहेको तथा कुनै पनि बेला महाभूकम्प आउने प्रक्षेपण गरिरहेको भएपनि सरकारले उद्धार र राहतका लागि आवश्यक अरु तयारी गरेको पनि देखिएन । भूकम्पले धेरै सडकहरु क्षतिग्रस्त बनाएकाले उद्धार र राहतका लागि हवाई साधनको आवश्यक्ता थियो । तर, नेपाली सेनासग र नीजि कम्पनिहरुसग भएका सिमित हेलिकप्टरहरु यत्रो महाबिपत्तिका लागि पर्याप्त थिएनन् । तत्काल उद्धार र राहत पुर्याउन सडक निर्माण गर्नुपर्ने थियो तर, त्यसका लागि पनि उपकरण र मानवीय शक्तिको अभाव देखियो । बिपत्तिका लागि एम्बुलेन्सको संख्या पनि पर्याप्त भएन, उद्धार र राहत गाउ गाउसम्म पुर्याउन सामान्य सवारीसाधनको पनि अभाव भएको तथा त्यही कारण उद्धार र राहत प्रभावकारी हुननसकेको सुरक्षाकर्मीहरुले गुनाशो गरेका छन् । उद्धारका लागि आवश्यक उपकरण र जनशक्तिको पर्याप्त तयारी गरेको भए तथा समयै उद्धार गर्न सकेको भए सायद मानवीय क्षतिलाई कम गर्न सकिन्थ्यो होला ।
घरमा पुरिएकाहरुलाई उद्धार गर्न आवश्यक उपकरणको पनि यो पटक हामीलाई निकै अभाव खट्कियो । ढलान/बिम काट्न प्रयोग गरिने आधुनिक उपकरण नभएकाले भत्केका घरमा पुरिएकाहरुको आवाज सुनिदासुनिदै पनि उद्धार गर्न नसकिएका केही घटना छन् । यद्यपि, स्वदेशी र बिदेशी उद्धारकर्मीहरुले त्यसरी फसेका केहीलाई उद्धार गरेर बचाउने सफलता पनि हात पारे । तर, त्यस्ता उपकरण स्वदेशी सुरक्षाकर्मीसग भएको भए अरु धेरै मानिसलाई बचाउन सकिन्थ्यो होला । अहिले पनि उपकरणको अभावका कारण भत्किएका घर हटाउन र सफा गर्न समस्या भइरहेको छ । अहिलेको गतिमै सफाई चल्ने हो भने काठमाडौंका भत्केका घरहरुलाई सफा गर्न नै बर्षाै लाग्ने काठमाडौं महानगरपालिकाको भनाई रहेको छ । यस्तो भएमा थप मानवीय क्षति हुनसक्ने खतरा रहन्छ भने भूकम्पको क्षतिको अवशेषले मानिसलाई मनोबैज्ञानिकरुपले तङ्ग्रिन पनि दिने छैन ।
अस्थायी बसोबासका लागि जस्तापाताको अभाव अहिले पनि खड्किरहेको छ । बर्षा सुरु भइसकेकाले स्थायी बसोबास तयार नहुदासम्म मानिसहरुलाई ओतसहितको बासस्थानको आवश्यक्ता छ । तर, स्वदेशी जस्तापाता उत्पादनले आवश्यक्ता धान्न सक्ने देखिएन भने बिदेशी उत्पादन पनि बजारमा सहज उपलव्ध भइरहेको छैन । त्यसमाथि भूकम्प पिडितको आर्थिक अभाव समस्या बनेर उभिएको छ । सडक मार्गको पहुच भएका ठाउमा जस्ता पुगेको देखिएपनि दुर्गम ठाउहरुका भूकम्प पिडितहरुले अझै जस्ताको अनुहार देख्न पाएका छैनन् ।
यी सबै तथ्यहरुले प्राकृतिक बिपत्तिका लागि सरकारको तयारी शून्य रहेको नै देखाउछ । बर्षासगै बाढि र पहिरोको जोखिम बढ्ने भर्खरैको ताप्लेजुङ घटनाले देखाइसकेको छ । पाहाडका बस्ती खतरामा छन् भने त्यसको अशर तराईका बस्तीमा पनि पर्ने खतरा छ । त्यस्तो बेलामा जनधनको थप क्षति हुनेछ । जसलाई न्यूनिकरण गर्न सरकार अहिलेदेखि नै तयारी अवस्थामा रहनुपर्ने आवश्यक्ता छ ।
लिनुपर्ने शिक्षा
नेपाल भारतीय र तिब्बती प्लेटको घर्षण हुने बिन्दुमा रहेको तथा हिमालय क्षेत्र भूकम्पीय दृष्टिले अत्यन्त संवेदनशिल रहेकाले सरकार र नेपाली जनताले पहिले नै यसको सामना गर्न तयारी गर्नुपर्ने थियो । बिज्ञहरुका अनुसार, झण्डै ४० हजार बर्षदेखि नेपालमा ठूला भूकम्प गएको इतिहास छ र हरेक ५ सय बर्षमा ८ रिख्टरभन्दा ठूला तथा ८० देखि एक सय बर्षमा ७ रिख्टर स्केलभन्दा ठूला भूकम्प आएको इतिहास छ । तर, यस्तो खतरायुक्त भूभागमा बसेर पनि त्यससग सामना गर्ने हाम्रो तयारी झण्डै शून्य नै रह्यो ।
यो भूकम्पपछि अब अर्काे ८० बर्ष भूकम्प आउदैन भनेर ढुक्क हुने अवस्था छैन । अहिले नै पनि परकम्पनहरु आइरहेका छन् भने नेपालकै पश्चिम भेगमा ५ सय बर्ष यता ठूला भूकम्प नआएकाले कुनै पनि बेला आउनसक्ने बिज्ञहरु अनुमान गर्छन् । त्यसैले, अब हामीले ढिला नगरी भूकम्पसग सामना गर्ने हिसाबले सम्पूर्ण तयारी गर्नुपर्ने भएको छ ।
हाम्रा ग्रामिण बस्तीहरु प्राकृतिक श्रोतलाई उपयोग गर्न र जिवन धान्न सहज हुने हिसाबले निर्माण भएका हुन् । घरहरु पनि स्थानीय स्तरमा सहजरुपमा उपलव्ध हुने सामाग्री प्रयोग गरेर बनाइएका छन् । आधुनिक प्रविधी प्रयोग नगरी निर्माण गरिएकाले यो पटकको भूकम्पमा त्यस्ता घरहरु टिक्न सकेनन् र करिब करिब सबै नै भत्किए । त्यसैले, अब स्थानीय सामाग्री प्रयोग गरिएपनि भूकम्पलाई थेग्ने वा मानवीय क्षति नहुने प्रविधी प्रयोग गरेर निर्माण गर्नुपर्ने भएको छ । बस्ती पनि भूकम्पबाट कम क्षति हुने ठाउमा निर्माण गर्नुपर्ने भएको छ । बाढि पहिरो जस्ता प्राकृतिक बिपत्तिलाई समेत बिचार गरेर घर र बस्ती निर्माण नगर्ने हो भने हामीले आगामी दिनमा अरु ठूला क्षति बेहोर्नुपर्ने हुनसक्छ ।
शहरका पुराना घर मात्र नभएर आधुनिक सामग्री र प्रविधी प्रयोग गरेर निर्माण भएका घर पनि यो भूकम्पमा टिक्न सकेनन् । भूकम्पको केन्द्र गोर्खा, सिन्धुपाल्चोक र दोलखामा नभएर काठमाडौंमै भएको भए सायद योभन्दा धेरै बढि मानवीय र भौतिक क्षति हुने थियो होला । साना घरलाई भन्दा यो भूकम्पले ठूला घरलाई बढि क्षति पुर्याएको पनि देखियो । लिक्षिवी, मल्ल र राणाकालका ऐतिहासिक मठ मन्दिर र भवनहरुको अस्तित्व त यो भूकम्पले झण्डै समाप्त नै पारिदियो भन्दा पनि हुने स्थिति छ ।
त्यसकारण, अब गाउ शहर निर्माण गर्दा भूकम्पसग प्रतिरोध गर्न सक्नेगरी बनाउनुपर्ने भएको छ । त्यसका लागि त्यस्तो प्रविधीसग सचेत निर्माणकर्मी तयार पार्नुपर्नेछ भने घर निर्माणमा भूकम्प प्रतिरोधी मापदण्ड पनि कडा ढंगले कार्यान्वयन गरिनुपर्छ । सडक, पुल, वाध, जल बिद्युत केन्द्र निर्माण गर्दा पनि हामीले यस्तो प्राकृतिक बिपत्ति आउनसक्ने तथा तिनको सामना गर्नुपर्ने बिचार गर्नैपर्छ ।
बस्तीहरुको बीच खाली ठाउ हुनुपर्ने तथा बस्तीको भित्रसम्म पुुग्ने फराकिला बाटाहरु हुनुपर्ने यो पटकको भूकम्ले हामीलाई राम्रो शिक्षा दिएको छ । अब हामीले यो शिक्षालाई ग्रहण गरेर बस्तीको बीचमा प्रसस्त खाली ठाउ र बस्तीसम्म पुग्ने फराकिला सडक निर्माण गर्नैपर्छ । यो पटकको संयोग, त्रिभुवन बिमानस्थललाई क्षति पुगेन । हामीसग एउटै मात्र अन्तराष्ट्रिय बिमानस्थल रहेकाले त्रिभुवन बिमानस्थलमा क्षति भएको भए संसारबाट हामी अलगथलग हुने थियौं तथा उद्धार र राहत अरु दुरुह बन्ने थियो । त्यसैले, बैकल्पिक अन्तराष्ट्रिय बिमानस्थल निर्माणलाई हामीले तत्काल जोड दिनुपर्छ ।
अबको बाटो
अप्ठ्यारोसग संघर्ष गर्ने क्रममै अरु मुलुकहरुले पनि उन्नति गरेका हुन् । त्यसैले, यो अकल्पनीय क्षतिबाट उठ्ने क्रममा अहिले पाएको र अरु मुलुकका शिक्षालाई पनि ग्रहण गर्ने हो भने हामी अघि बढ्ने सम्भावना छ । तर, त्यसका लागि सरकार बलियो मियो बनेर उभिनुपर्छ र सम्पूर्ण मुलुकलाई आफू वरिपरि गोलवन्ध गर्न सक्नुपर्छ ।
अब हामीले पुनर्निर्माण थाल्दा भूकम्पले क्षति पुर्याएको क्षेत्रमा मात्र केन्द्रित हुनुहुदैन । पश्चिम, सुदुर पश्चिम र पूर्वमा यो भूकम्पले कम क्षति पुर्याएपनि भूकम्पले क्षति पुर्याएका ठाउहरुसगै ति क्षेत्रमा पनि भौतिक संरचना निर्माण अभियान थाल्नुपर्छ । अहिलेको भूकम्पले तराईमा कम क्षति पुर्यायो । तर, भूकम्पीय जोखिम तराईमा पनि उत्तिकै छ तथा अरु प्राकृतिक प्रकोपले तराईलाई पनि कुनै बेला तारो बनाउन सक्ने खतरा छ । त्यसैले अब हाम्रो पुनर्निर्माण समग्र मुलुकमै हुनुपर्छ ।
अब हामीले पर्यावरण नबिगारी पाकृतिक श्रोत/साधनलाई प्रयोग गर्न सम्पूर्ण शक्ति लगाउनुपर्ने आवश्यक्ता छ । तर, मानवीय क्षमता नबढाई हामी यसो गर्न सक्दैनौं । त्यसैले, हाम्रो अबको ध्यान मानवीय क्षमता बढाउने पनि हुनुपर्छ । प्राकृतिक बिपत्तिले दिएको क्षति र पिडाबाट मुक्त हुने तथा सम्बृद्धिको बाटोमा अघि बढ्ने यो नै उपयुक्त बाटो हो ।
(यो लेख मदन भण्डारी फाउण्डेशनद्वारा असार १४ गते प्रकाशित आजको दिशावोध पत्रिकामा पनि प्रकाशित छ)
0 comments:
Post a Comment