Saturday, July 25, 2015

एक थिए बिनोद मिश्र, अर्का छन् बिप्लव



भारतीय कम्युनिष्ट पार्टी (माले) का स्वर्गीय महासचिव बिनोद मिश्र र नेकपा माओवादीका महामन्त्री नेत्रबिक्रम चन्द बिप्लवबीच तुलना हुने कमै बिषय छन् । तर, दुवैबीच कम्युनिष्ट हुनुको समानता छ । ठूलो फरक के छ भने, मिश्रले चारु मजुमदारको व्यक्ति हत्याको बिराशत भएको पार्टीलाई १९९२/०९३ मा खुला राजनीतिमा ल्याए भने बिप्लव खुला राजनीतिले दिएको अवशरलाई अस्विकार गर्दै हिंशाको बाटोमा फर्कने योजना बनाउदै छन् ।

माओवादीकै माग अनुसार बनेको संविधानसभाले संविधान निर्माणलाई अन्तिम चरणमा पुर्‍याउदै गरेको बेला साउन ८ गते बिप्लवले नेपाल बन्द गरे । तर, नेपालको लिपुलेकबारे भारत र चीनले सम्झौता गरेको बिषयलाई लिएर गरिएको बन्दप्रति अधिकांश सहमत छैनन् । बन्दले मुलुकमा कति क्षति पुर्‍यायो, काम गरेर खाने कतिलाई पिडित बनायो जस्ता बिषय छाड्ने हो भने पनि यस्तो बिषय कुटनीतिक तरिकाले समाधान गर्नुपर्नेमा सडकको बिषय बनाएकोमा धेरैको असहमति छ । तर, बिप्लवका नेता/कार्यकर्ता नेपाललाई ‘बन्द’ गर्न सकेकोमा खुसी मनाईरहेका छन् ।

योभन्दा महत्वपूर्ण कुरा, बिप्लव कुनै बहानामा संविधान निर्माणलाई अवरोध गर्न चाहन्छन् । ‘जनसेना, जनसत्ता’ को कुरा उठाउदै उनी पुन कुनै प्रकारको हिंशा मच्चाउन चाहन्छन् । खुला राजनीतिमार्फत जनतालाई आफ्नो विचारमा सहमत गराउने बाटोमा उनको रुची छैन, बन्दुक पड्काएर एकलौटी सत्ता हत्याउने लोभ मात्र छ, जसलाई उनी ‘क्रान्ति’ भन्छन् । जमिनको उपयोग कसरी गर्ने, औद्योगिकरण कसरी हुनेछ, बेरोजगारी कसरी अन्त्य गर्न सकिन्छ, गरिबी कसरी कम हुन्छ, जनतालाई साचो अर्थमा शाषनमा कसरी सहभागि गराउने, मुलुकलाई सम्बृद्धिको बाटोमा अघि बढाउने बाटो कस्तो हुनेछ, समाजवादी प्रणालीमा चीनले लिएको बाटो ठिक हो कि होइन जस्ता बिषयमा उनीसग चित्त बुझ्दो उत्तर छैन, त्यस्ता बिषयमा उनले टाउको दुखाउन चाहेको पनि देखिदैन । क्रान्तिको नारा जप्दै पुष्पकमल दाहालले जसरी नै शक्ति हात पार्ने उदेश्य मात्र उनको देखिन्छ ।

दाहाल, बाबुराम भट्टराई र मोहन बैद्यले जनता र क्रान्तिलाई धोका दिएकोमा मात्र असन्तुष्टि वा बिरोध हुन्थ्यो भने इमान्दारीपूर्वक जनतालाई साथ लिएर अघि बढ्ने बाटो उनले रोज्न सक्थे । दाहालको जस्तो दोहोरो चरित्र, भट्टराईको जस्तो कार्यकर्ता र जनतासग घुलमिल नहुने स्वभाव र बैद्यको जस्तो निस्कृयताको साटो प्रष्ट बोली र काम, जनता र कार्यकर्तासग घुलमिल र सक्रियता देखाएर बिकल्प बन्न सक्थे । तर, उनी हिंशाबाट शक्ति हत्याउने तथा बुद्धि र मिहिनेत कम लगाउनुपर्ने बाटो रोज्दैछन् ।

बिप्लवसग २०४५ सालमा काठमाडौं हाडिगाउको एउटा कोठामा मेरो भेट भएको थियो, जतिबेला उनी अहिलेको माओवादीको पूर्व रुप नेकपा मशालको बिद्यार्थी कार्यकर्ता थिए, तर मलाई उनको नाम सम्झना थिएन । त्यसपछि २०६२ साल असोजमा रोल्पा जादा उनको नाम सुने, उनी त्यति बेला माओवादीको त्यहाको इन्चार्ज रहेछन् । त्यही बर्षको पुषमा रोल्पा जादा उनीसग भेट्ने मात्र नभएर केही दिन सगै हिड्ने मौका मिल्यो । रुकुमको रुकुमकोटमा भेट्दा उनी खुला र कुरा स्पष्टरुपमा राख्न सक्ने नेता लाग्यो । त्यसपछि माओवादी खुला भएपछि काठमाडौंमा पनि उनीसग केही पटक भयो । माओवादीका अन्य नेताहरुको तामझाम देखेको बेला कुलेश्वरको उनको डेरामा देखिएको सादगीबाट म धेरै प्रभावित भए । तर, यि कुरा अर्कै हुन् भने उनको गलत राजनीति अर्कै । समाजको अगुवाई गर्ने माध्यम राजनीतिलाई हिंशात्मक बनाउने बाटो जो सुकैले अपनाओस् , २१ औं शताब्दीमा किमार्थ स्विकार्य हुनसक्दैन ।
............................................................................................................................................

बिनोद मिश्रसग चाहि २०४९ साल माघमा नेकपा एमालेको काठमाडौंमा भएको पाचौ महाधिवेशनको उदघाटन समारोहमा पहिलो र अन्तिम भेट भएको थियो । उनको नाम भने त्यसअघि नै मैले सुनेको थिए । नक्शलवादी आन्दोलनका प्रणेता चारु मजुमदारको जेलमा मृत्यु भएपछि महासचिव बनेका सुब्रत दत्त ‘जौहर’ प्रहरीसगको भिडन्तमा मारिएपछि महासचिव बनेका मिश्र लामो समय भारतीय सत्ताका निम्ति टाउको दुखाई बनेका थिए । पंचायतकालमा तत्कालिन नेकपा मालेसग भाईचारा सम्बन्ध रहेका कारण पनि मेरो जानकारीमा उनको नाम आएको थियो । २०४९ मै भाकपा मालेको कलकत्तामा भएको खुला महाधिवेशनमा एमालेका तत्कालिन महासचिव मदन भण्डारीले सम्वोधन गरेको थिए । संयोगवश भण्डारी कलकत्ताबाट फर्कदा त्रिभुवन बिमानस्थलमा नेपालीपत्र साप्ताहिकको तर्फबाट समाचार लिन म पुगेको थिए । र, नेपालीपत्रले ‘नक्शलवादी आन्दोलनको उपादयेता अझै बाकि छ’ भन्ने भण्डारीको भनाईलाई प्रमुख समाचार बनाएको थियो ।

२०५० जेठ ३ गते भण्डारीको निधन भएपछि शवयात्रामा भाग लिन मिश्र नेपाल आएका थिए । तर, त्यसको झण्डै चार बर्षपछि हृदयघातबाट मिश्रको पनि निधन भयो । उनको शवयात्रामा भाग लिन त्यसबेला एमालेबाट तत्कालिन महासचिव माधवकुमार नेपाल र फुटेको मालेका नेता सिपी मैनाली पट्ना पुगेका थिए ।

पत्रकारको हिसाबले एमालेको पाचौं महाधिवेशनको मंचमा बस्दा तश्वीर खिच्ने अनुरोधसगै मैले बिहारमा तपाईहरुको कुन क्षेत्रमा राम्रो प्रभाव छ भन्ने प्रश्न सोध्न भ्याएको थिए । उनले रक्शौल क्षेत्रमा पनि आफ्नो पार्टीको प्रभाव रहेको बताएका थिए । त्यस बेला नेपाली पत्रिकाहरुमा छापिएका उनका अन्तर्वार्ताहरुबाट उनी परिपक्क राजनीतिज्ञ र जुनसुकै बिषयलाई दार्शनिक ढंगले जवाफ दिन सक्ने नेता भएको लागेको थियो ।

मिश्रले खुला राजनीतिमा आउन सत्तासग कुनै शर्त राखेनन्, भारतमा सत्ता निकै बलियो रहेकोले सायद उनीसग त्यस्तो मौका थिएन । जनतालाई आफ्नो विचारमा सहमत गराउन सक्ने, संगठित गर्न सक्ने र बहुमत जनताको समर्थनमा सरकारसमेत बनाउन सक्ने अवशर हुदाहुदै हिंशाको बाटोमा हिड्नु तार्किक नहुने महशुस गरेर उनले हतियारबद्ध कार्यकर्तालाई हतियार छोडाउदै पार्टीलाई आफ्नो निर्णयमा खुला बनाएका थिए । तर, खुला राजनीतिमा पार्टीलाई धेरै समयमा हिडाउन नपाउदै उनको निधन भयो ।

उनको निधनपछि युवा नेता दिपाङ्कर भट्टाचार्य महासचिव बनेका छन् । भारतीय राजनीतिमा उक्त पार्टीको खासै प्रभाव नदेखिएपनि बेला बेला समाचारहरुमा भने आएको देखिन्छ । गत बर्षको लोकसभा निर्वाचनमा बनारशमा अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीबिरुद्ध अरविन्द केजरीवाललाई उनको पार्टीले सहयोग गरेको थियो भने दिल्लीको विधानसभामा पनि केजरीवालको पार्टीलाई नै सघाएको थियो ।

भारतीय राजनीतिमा मिश्रको पार्टीको प्रभाव अहिले निर्णायक नदेखिएपनि हिंशाको राजनीति त्यागेर उनले हजारौंलाई मृत्यु, अंगभंग र बिस्थापित हुनबाट जोगाएकोमा भने राजनीतिज्ञ र राजनीतिक बिश्लेषकहरु अहिले पनि सम्झिरहन्छन् । समाजलाई आफ्नो विचार अनुसार, आफ्नो संगठनको माध्यमबाट अगुवाई गर्न नसक्नु अर्कै कुरा होला, तर त्यसको आक्रोशमा हिंशा मच्चाउनु, निर्दाेषहरुको हत्या गर्नु, अंगभंग बनाउनु र बिस्थापित गराउनु अपराध हो ।

धेरैपछि, पुराना एल्बम हेर्दा बिनोद मिश्रसगको तश्वीरले मिश्रसग बिप्लवलाई तुलना गर्न मन लगायो, जबकि उनीहरुबीचको तुलना कतैबाट गर्न मिल्दैन ।
Add caption
२०४९ मा एमालेको पाचौ महाधिवेशन उदघाटन समारोहमा भाकपा मालेको महासचिव बिनोद मिश्रसग ।  

0 comments:

Post a Comment

 
Configuration After installing, you might want to change these default settings: