Wednesday, July 1, 2015

राजीनामा वा फिर्ता


असार १५ को धान दिवसको दिन महिलालाई अभद्र व्यवहार गर्ने कृषि मन्त्री हरि पराजुलीले कि जानेर आफै राजीनामा दिनु राम्रो, होइन भने एमालेले उनलाई मन्त्रीबाट फिर्ता बोलाउनु पर्छ । किनभने, सभ्य समाजमा मन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिको यस्तो अभद्र व्यवहार सह्य हुदैन ।

सामाजिक सञ्जालहरुमा आएका तश्वीर र भिडिओले उनको कर्म स्पष्ट पारिसकेका छन् । यसो, उसो भन्दै स्पष्टिकरण दिएर उम्किने वा बच्ने उनको ठाउ देखिदैन । नशा वा पदको मातले वा चरित्र जेसुकै कारण होस्, तश्वीरमा देखिएकी महिलाले अस्विकार गर्दागर्दै उनी टास्सिएको देखिन्छ । त्यस्तो जबरजस्ती मन्त्री पदबाट बाहिरिने मात्र नभएर अन्य कानून पनि आकर्षित हुने कारण बन्नुपर्छ । तर, पहिले चाहि उनी मन्त्री पदबाट बाहिरिनै पर्छ । त्यसपछि सम्बन्धित महिलाले उजुरी दिएमा उनले अरु कारवाही पनि भोग्नपर्ने हुनसक्छ ।



यस्तै केही पात्रकै कारण हो, राजनीति र राजनीतिक नेताहरु समाजमा बदनाम हुनु परेको । मन्त्री जस्तो राज्यको सबैभन्दा उपल्लो कार्यकारी पदमा पुग्ने व्यक्तिले पदको महत्व नबुझ्दा, पद अनुसार काम नगर्दा तथा सामान्य मानिसले समेत गर्न नमिल्ने व्यवहार गर्दा इमान्दार र मुलुकका लागि केही गरेका तथा गर्न चाहने राजनीतिक नेताहरु पनि बदनाम हुनुपरेको छ । हुन त यो स्वभाविक हो कि, राम्रोभन्दा नराम्रो कामको प्रचार र चर्चा बढि हुन्छ । त्यसमाथि, समाजका अगुवाई गर्नेहरुबाट अपेक्षा बढि गरिने हुनाले उनीहरुको सानो नकारात्मक कामको पनि बढि चर्चा हुनेगर्छ । कहिले काहि केहीका त्यस्तै कामका कारण राजनीतिक नेताहरुका ठूला कामहरु पनि आझेलमा पर्न जान्छन् ।

अहिलेकै कुरा गर्ने हो भने, भूकम्पपछि पिडितहरुलाई अस्थायी बासस्थान निर्माण गर्न अग्रणी रहेर प्रसंसा कमाएको नेकपा एमाले मन्त्री पराजुलीकै कारण बदनाम हुने देखिएको छ । पराजुली मन्त्रीमा रहिरहे भने एमालेले महिला अधिकारवादीको मात्र नभएर सम्पूर्ण सभ्य समाजकै आक्रमण खेप्नु पर्नेछ । त्यसपछि उसले भर्खरै भूकम्प पिडितको बासस्थान व्यवस्थापन गरेर कमाएको शाख पनि कायम नरहन सक्छ ।

त्यसैले, एमालेले आफ्नो शाख बचाउने हो भने तत्काल मन्त्री  पराजुलीलाई मन्त्री पदबाट फिर्ता बोलाउनु पर्छ । उनी कुन गुटतर्फबाट मन्त्री भए तथा कुन गुटका नजिक छन्, यो आम नेपालीलाई सरोकार छैन तथा एमाले नेतृत्वले पनि यसमा सरोकार राख्नु हुदैन । हो, नैतिकता र इज्जत बाकि छ तथा पछि पनि राजनीति गर्ने इच्छा राख्छन् भने उनैले राजीनामा दिएको सबैभन्दा राम्रो । किनभने, स्मरण पातलो रहेको नेपाली समाजको गल्ती स्विकार्नेलाई माफी दिने संस्कार छ । उनको हकमा पनि यो लागू नहुने कारण छैन ।


0 comments:

Post a Comment

 
Configuration After installing, you might want to change these default settings: