Friday, July 3, 2015

महिलाको तश्वीर राख्ने नहुनै होइन


असार १५ गते धान दिवसको दिन काठमाडौं मूलपानीमा तत्कालिन कृषि मन्त्री हरि पराजुलीबाट अभद्र व्यवहार भोगेका महिलाको तश्वीर प्रकाशित गरेकोमा अहिले सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । तश्वीर प्रकाशित गर्दा ति महिलाको बेइज्जत भएको आलोचना गर्नेहरुको तर्क छ ।

तर, ति महिलाको कुनै गल्ती नभएको तश्वीरहरु र भिडिओले प्रष्ट देखाउछन् । पराजुलीले टास्सिन खोज्दा महिलाहरुले प्रतिवाद गरेको पनि तश्वीर र भिडिओमा स्पष्ट देखिन्छ । त्यसैले, ति तश्वीर र भिडिओले महिलाको नभएर पराजुलीको इज्जत गएको छ । जसले गल्ती गरेको छ,  इज्जत उसैको जाने हो । गल्ती नगर्नेको इज्जत जाने हाम्रो सामाजिक संस्कार पनि छैन ।  झन, आधुनिक समाजले त गल्ती नगर्नेको इज्जत खोस्ने कुरै आउदैन । त्यसैले ति महिलाले आफ्नो इज्जत गयो भनेर चिन्ता मान्नुपर्ने कुनै कारण छैन ।



महिलाको इज्जत केही गर्नसाथ गइहाल्ने खालको पातलो र कमजोर हुन्छ भन्ने सोच्नु ठिक होइन । कुनै रुढिवादीले त्यस्तो सोच्छ भने त्यो उसको कमजोरी हो, सम्पूर्ण समाज उसकै सोचको पछि लाग्नु पर्छ भन्ने छैन । त्यस्तो सोचको पछि लागेर समाज अघि बढ्न पनि सक्दैन । त्यस्तो सोच पालिराख्ने हो भने महिला समानता कुनै हालतमा प्राप्त हुन सक्दैन । त्यसैले महिला समानताको पक्षपातिहरुले महिलाको इज्जतलाई त्यति कमजोर बनाउनु हुदैन । हिन्दी सिनेमा र परम्परागत मुश्लिम समाजमा जस्तो महिलालाई कमजोर, इज्जत सधै धरापमा रहेको तथा कतै अनुहार देखाउन नहुने प्राणी बनाउनु हुदैन ।

तत्कालिन मन्त्री पराजुलीको कर्तुत देखाउन ति तश्वीर र भिडिओ अघि सारिएको सबैले बुझेका छन् । तश्वीर र भिडिओ त्यसरी प्रचार नभएको भए त्यो प्रकारको सामाजिक दबाब उत्पन्न हुदैनथ्यो तथा उनले दण्ड पनि पाउदैनथिए । ति तश्वीर र भिडिओ सार्वजनिक हुदा त अनेक कुतर्क दिदै बच्ने प्रयास गर्ने पराजुली, सार्वजनिक नभएको भए मन्त्री पदबाट कुनै हालतमा राजीनामा दिदैनथिए । त्यसो भएको भए, ति महिलालाई अभद्र व्यवहार गरेको अपराधको सजाए उनले पाउने थिएनन् ।

ति महिलाहरुले पत्रकार सम्मेलन गरेर आफ्नो बेइज्जत भएको तथा आफ्नो अपमान भएको बताएका छन् । उनीहरुले त्यस्तो सोच्नु र भन्नु उनीहरुको हिसाबले ठिकै पनि होला । परम्परागत समाजमा हुर्किएका उनीहरुको सोच त्यस्तो हुनु अस्वाभाविक पनि होइन । तर, आफूलाई आधुनिक भन्ने तथा पुरुष बराबर ठान्ने महिला पनि उनीहरुकै तालमा लाग्नु भने स्वभाविक होइन । उनीहरुले त, ‘नआत्तिनुस् आमा, दिदी, तपाईको इज्जत गएको छैन । मन्त्रीले जबरजस्ती टास्सिन खोज्दा पनि प्रतिवाद गर्ने तपाईहरु बहादुर हुनुहुन्छ, तपाईहरुको इज्जत बढेको छ’ भन्नु पर्ने थियो । उनीहरुले त्यसो भनेको भए, ति महिलाको पनि आत्माबिश्वास बढ्ने थियो, उनीहरुको शिर नझुकेर उठ्ने थियो तथा महिला समानताको आन्दोलनमा एउटा भने पनि इटा थपिने थियो ।

0 comments:

Post a Comment

 
Configuration After installing, you might want to change these default settings: