Wednesday, July 15, 2015

नेताहरुको भारत भ्रमण: पर्खाैं र हेरौं


संविधान निर्माणले जोड पक्रिरहेको बेला केही नेपाली नेताहरुको भइरहेको तथा हुन लागेको भारत भ्रमणबारे तिब्र प्रतिक्रिया उत्पन्न भएको छ । नागरिक समाजका केही अगुवाले यस्तो बेला नेपाली नेताले भारत भ्रमण गर्न नहुने धारणा राखेर यो बहशलाई अरु तिब्र गति दिएका छन् । नेपाली नेताहरुलाई बोलाएर संविधान निर्माणमा भारतले केही नकारात्मक प्रभाव नै पार्ला भन्ने आशंकाका कारण नेताहरुको यो भ्रमण सम्बन्धमा आम मानिसको पनि नकारात्मक धारणा छ ।

यो प्रकरणले परिणाम नहेरी आशंका गर्ने मात्र नभएर निष्कर्षमा पुग्ने नेपाली बानी पनि देखाउछ । किनभने, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भारतबाट नफर्कादासम्म भारतको उदेश्य स्पष्ट हुनेछैन । संविधान निर्माणबारे उनको धारणा फेरिन्छ कि कायम रहन्छ भन्नेले त्यो स्पष्ट पार्नेछ । उनले कुरा फेरे, संविधान निर्माणलाई अवरोध गर्न खोजे वा ढिलाई गराउन चाहे भने संविधान निर्माणमा भारतको नकारात्मक भूमिका स्पष्ट हुनेछ भने त्यस्तो केही गरेनन् भने भारतको भूमिकालाई नकारात्मक मान्नुपर्ने छैन । त्यसैले, यसबारे कुनै निष्कर्षमा पुग्नुभन्दा केही दिन पर्खनु नै उपयुक्त हुनेछ ।


धेरैले अनुमान गरेको तथा केही तथ्यहरुले संकेत गरेको कुरा हो कि, चार दलबीच संविधान निर्माणबारे भएको पछिल्लो सहमतिप्रति भारत सकारात्मक छैन । तर, उसले औपचारिक रुपमा कहिल्यै त्यो बताएको छैन । भारत त्यसबारे मौन रहनुमा नेपाली राजनीति त्यो सहमतिको बाटोतर्फ अघि बढिसकेकोले पनि हुनसक्छ वा त्यसलाई बीचैमा दुर्घटना गराउने उदेश्यले पनि हुनसक्छ । तर, यस्तो बिषयमा अर्काे देशले कहिले काहि मात्र आफ्नो खास धारणा सार्वजनिक गर्छ भन्ने पनि बिर्सनु हुदैन । ‘कस्तो संविधान बनाउने, नेपालीहरुको अधिकार हो’ जस्तो कुटनीतिक बोली बोल्ने गरिन्छ, यस्तो बिषयमा ।

अनि, यस्तो भ्रमणहरुको आयोजना चाहि भावी कामलाई प्रभावित पार्न, नगरेको कामको जश लिन वा आफू त्यो कामको बिरोधमा नगरेको आश्वस्त तुल्याउन गरिन्छ । अहिले भारतले आयोजना गरेको नेपाली नेताहरुको भ्रमण यी जुनसुकै उदेश्यका लागि हुनसक्छ । संविधान निर्माणलाई प्रभावित पार्न उसले यी भ्रमण आयोजना गराएको हो भने त्यसलाई नकारात्मक मान्नुपर्छ र विरोध गर्नुपर्छ । तर, नगरेको कामको जश लिन वा आफू त्यो कामको विरोधमा नरहेको आभाष दिन मात्र यी भ्रमण आयोजना गरेको हो भने नकारात्मक मान्नुपर्ने कारण छैन । ठिकै छ, भनेर चुप लाग्दा हुन्छ ।  

0 comments:

Post a Comment

 
Configuration After installing, you might want to change these default settings: