Wednesday, July 8, 2015

धर्मलाई व्यक्तिगत बिषय नै रहन दिउ


व्यक्तित आस्था/विस्वास र समस्या एउटा कुरा हो भने सामूहिक आस्था/विस्वास र समस्या अर्काे कुरा हो । व्यक्तिगत आस्था/विस्वास र समस्यालाई सामुहिकिकरण गरेर सडकमा उठाउनु उपयुक्त हुदैन । भलै, क्षणिकरुपमा त्यो लोकप्रिय नै किन नबनोस् ।

जस्तो, माया प्रेम पाउनु वा धोका पाउनु व्यक्तिगत बिषय हो । माया कसरी पाउन सकिन्छ तथा कसरी मायाबाट धोका पाइदैन भन्ने व्यक्ति आफैले जान्नुपर्छ र मिलाउनु पर्छ । तरिका मिलाएर व्यवहार गर्न जान्ने हो भने माया पाइन्छ भने तरिका मिलाउन नसक्दा अस्विकृति वा धोका पनि पाइन्छ । माया पाउनुपर्छ वा धोका पाउनु हुदैन भन्ने नारा युवा पुस्ताबीच लोकप्रिय बने पनि त्यो सामूहिक बिषय हुनसक्दैन ।

त्यसैगरी, सुन्दरताको आफ्नै परिभाषा हुन्छ । कसैलाई कालो, कसैलाई गोरो, कसैलाई अग्लो त कसैलाई होचा कसैलाई मोटो र कसैलाई पातलो मन पर्छ । धेरैलाई केही मन पर्छ भन्दैमा त्यही परिभाषा सर्वमान्य हुनसक्दैन । आफ्नो परिभाषा अनुसारको बिश्वासमा मानिसले बाच्न पाउनुपर्छ ।


धर्म पनि त्योभन्दा धेरै फरक होइन । इतिहास, संस्कृति, संगत, पारिवारिक पृष्ठभूमि वा तिप्रति अस्विकृतिका कारण मानिसले कुनै धर्मप्रति विश्वास गर्छ  वा अर्काे धर्म अंगाल्छ । यो उसको नितान्त व्यक्तिगत आस्था र विश्वासको कुरा हो । तिमीले यही धर्म मान्नुपर्छ वा यो धर्म मान्नु हुदैन भन्ने अधिकार कसैलाई हुदैन ।

जस्तो मेरो, पिता/पुर्खा, समाज, आफन्त र परिवारका सदस्यसमेत सबै हिन्दु धर्ममा विश्वास गर्थे/गर्छन् । म पनि दशैं र तिहारमा टिका लगाउछु, तर हिन्दु धर्म मानेर होइन । संस्कृति/परम्परा र पारिवारिक कारण मात्र हो । बाहुन जातिको भएर पनि म जनै लगाउदिन, ब्रत्तमन्ह गरेको छैन, बिबाह गरिसकें, छोराछोरी जन्मिसके । यस सम्बन्धमा के गर्ने नगर्ने मेरो अधिकारको कुरा हो, यसमा सामूहिकता वा राज्यको निर्णय लागू हुदैन ।

सायद राज्यको धर्म हुदैन भनेको यही भएर होला । कसैले पश्चिमा मुलुकको त राष्ट्रिय धर्म छ नि भन्छन् भने त्यो उनीहरुको कुरा हो । व्यक्तिगत आस्था र त्यसमा राज्यको भूमिका सम्बन्धमा वृहत र आधुनिक तरिकाले सोच्ने हो भने उनीहरुले पनि त्यो त्याग्नै पर्छ । जसरी अहिले मानवअधिकार भन्ने बिषय विश्वव्यापी बनेको छ, यो विषय पनि विश्वव्यापी बन्ने नै छ । त्यसमाथि, कसैले गल्ती गरेको छ भने हामीले पनि त्यही गल्ती गर्नैपर्छ भन्ने छैन ।

फेरी, राज्यले एउटा धर्म अंगाल्दा अन्य धर्मले राज्यलाई आफ्नो ठान्लान् वा नठान्लान् भन्ने प्रश्न पनि त छ । किरात, बौद्ध, प्राकृतिक जस्ता नेपाली माटोमा जन्मिएका धर्म मान्नेले के ठान्लान्, समावेशीको यो जमानामा ....?

हो, नेपाललाई हिन्दु राष्ट्र नभन्दा लोभलालचमार्फत धर्म परिवर्तन गराइएला र यहाका सनातन धर्म मासिएला भन्ने चिन्ता छ भने यसलाई हिन्दु राष्ट्र नभनेर पनि सम्वोधन गर्न सकिन्छ, लोभलालच र डर देखाएर गरिने धर्म परिवर्तनलाई कडाईपूर्वक रोकेर तथा प्रतिवन्ध लगाएर ।

तर, स्वेच्छाले गरिने धर्म परिवर्तनलाई भने नेपाललाई हिन्दु राष्ट्र बनाइयोस् वा जस्तोसुकै कडा कानून बनाइयोस्, रोक्न सकिदैन । बरु, त्यसलाई रोक्न चाहने हो भने सनातन धर्म पक्षीयहरुले आफूमा रहेको कमजोरीलाई सच्याउनुपर्छ । जस्तो, आर्य समाजमा दलितमाथि गरिने अमानवीय व्यवहार तथा मंगोल समाजमा अनेकौं ढाचाकाचा र फजुल खर्च । यो नरोक्दासम्म यहाको सनातन धर्मको संकुचन जोगाउन हम्मे नै पर्नेछ ।       

0 comments:

Post a Comment

 
Configuration After installing, you might want to change these default settings: